माओवादी केन्द्रका सदस्यबाट १ सय रुपैयाँ उठाइने

काठमाण्डौ | नेकपा (माओवादी केन्द्र) ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवम् अन्य रचनात्मक कामका लागि खर्च जुटाउनेकालागि साथ पार्टीका सबै सदस्यबाट एक सय रुपैयाँका दरले उठाउने भएको छ ।

माओवादीका देशभर आठ लाख पार्टी सदस्य छन् । त्यसबाट आठ करोड रुपैयाँ बराबरको रकम सङ्कलन हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज आइतवार बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एक पटकका लागि त्यो परिमाणमा रकम सङ्कलन गर्ने निणर्य गरेको हो ।

बैठकमा देशको समसामयिक राजनीतिक विषयका साथै भर्खरै सम्पन्न पालिका चुनाव, पार्टीका अन्य कामलगायत विषयमा छलफल गरिएको थियो । माओवादी नेता हरिबोल गजुरलेका अनुसार समसामयिक राजनीतिक विषयका साथै पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) भित्र देखिएको केही असन्तुष्टिका बारेमासमेत छलफल भएको थियो ।