कर्णालीमा गठबन्धनको भागवण्डा : एउटै जिल्लामा जुटाउन सकेन सहमती

सुर्खेत । कर्णालीमा सत्ता गठबन्धनले चुनावी तालमेलका लागि भागवण्डाको टूगो लगाउन सकेको छैन् । निर्वाचमा कसलेकुन पालिकाको नेतृत्व लिने बिषयमा सहमति जुटाउन नसक्दा गठबन्धनको चुनावी भागवन्डा असरल्ल परेको हो ।

चैत ३० गते बसेको प्रदेशस्तरीय पाँच दलीय गठबन्धन संयन्त्रको बैठक प्रदेशका १० वटै जिल्लालाई वैशाख ३ गते भित्र सिट बाँडफाँड टुंगो लगाएर पठाउन निर्देशन दिएको थियो ।

तर शनिबार बेलुकासम्म कुनै पनि जिल्लामा सत्ता गठबन्धन दलहरु बीच सिट बाँडफाँडको विषयमा सहमति जुट्न नसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले स्रोतसँगको कुराकानीमा बताईन ।

केसीले भनिन् ‘अहिलेसम्म कुनैपनि जिल्लाले सिट बाँडफाँड टुंगो लगाएका छैनन् । तीन गतेसम्मको डेडलाइन दिइएको हो, जिल्लामा छलफल चलिरहेको छ । भोलिसम्म पठाउँछन् कि !’

उम्मेदवार मनोनयनका लागि अब नौ दिनमात्रै बाँकी छ । तर, उम्मेदवारको टुंगो लगाएर मत माग्न घरदैलो जानुपर्ने दलहरू भागबण्डा मिलाउन सकिरहेका छैनन् ।

केन्द्रले सिट बाँडफाँडको मापदण्ड बनाएर देशभर सर्कुलर गरेपनि जिल्लास्तरमा नेताहरु बीच सहमति जुट्न नसकेको हो ।

दलहरुले आ-आफ्नो पकड क्षेत्रमा बढी सिट हत्याउन खोजेपनि सहमति जुट्न नसकेको कांग्रेसका कर्णाली प्रदेश महामन्त्री निरञ्जन केसी बताए । ‘राष्ट्रिय आवश्यकतालाई महसुस गरेर अघि बढेका छौं । कुनैपनि दल मारमा नपर्ने गरी सिट बाँडफाँड हुने गरी जिल्लामा छलफल चलिराछ, राति १२ बजेसम्म भएपनि टुंगो लाग्छ’ उनले भने ।