ओली कम्जोर छ भन्नु झुटा हो, ओलीजीको पार्टी धेरै बलियो छ – प्रधानमन्त्री देउवा

देउवा

१२ चैत, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र काँग्रेस नेता शेखर कोईरालाबीच चुनावि गठबन्धनलाई लिएर जुहारी चलेको छ ।

कोइरालाले गुटउपगुटलाई मिलाएर जाने हो भने गठबन्धन आवश्यक नभएको बताएका छ्न् । गठबन्धन गरिरहने हो भने कांग्रेसको हालत पनि भारतको कांग्रेस आईको जस्तो हुन्छ कि भन्ने चिन्ता लागेको उनले बताए ।

तर देउवाले भने एमाले र माओवादी मिल्दा स्वयं शेखर कोइरालाले चुनाव हारेको स्मरण गरे । ‘एमाले र माओवादी फुटे, हामी जितिहाल्यौं भन्दा फेरि मिलिदिए भने नि ?,’ उनले अघि भने, ‘उहाँहरु मिल्ने सम्भावना घटेको छैन । मिल्न दिने भए दिऔं के भयो र !’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार्ने चुनाव नलड्ने भन्दै उनले भने, ‘जहाँ सजिलो हुन्छ, त्यही मिलिदिन्छ । त्यो पनि बुझ्नुपर्‍यो नि !’

कांग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त नहुने भन्दै देउवाले स्थानीय चुनाव सजिलो नभएको बताए । कांग्रेसले भन्दा धेरै एमाले र माओवादीले जितेको भन्दै उनले कमसेकम त्यहाँ मिलेर लड्नुपर्ने बताएका छन् । उनले अघि भने, ‘ओली कमजोर छ भन्नु झुटा हो । ओलीजीको पार्टी धेरै बलियो छ । ’

गठबन्धनको पक्षमा उभिँदै आएका देउवाले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरुलाई गेटआउट भन्न नमिल्ने समेत बताए ।

तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा आफू चुनावकै पक्षमा रहेको, तर अदालतले संसद पुनस्र्थापना गरेको र सबैको सहयोगमा आफू प्रधानमन्त्री भएको भन्दै देउवाले भने, ‘प्रधानमन्त्री बनाउने साथीलाई अहिले मैले गेट आउट भन्न मिल्छ ?’