सुर्खेतका भाईरल वडा अध्यक्ष कारागार चलान

जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले डाका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । विष्टसँगै सुशील गुरुङ र बलिराज शाही पनि जेल चलान भएका छन् ।

२४ असारमा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

अदालतले पाँचमध्ये दुई जना सन्तोष थापा र यामराज शाहीलाई भने दुई-दुई लाख धरौटीमा रिहा गर्न अनुमति दिएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।