माल्टा पठाउने भन्दै लाखौ ठगि गर्ने गुर्भाकोटका कमानसिंह कामी विरुद्ध प्रहरीमा उजुरी

सुर्खेत । माल्टाको सपना देखाएर लाखौं रुपैयाँ ठगी गर्ने गुर्भाकोटका एक जना विरुद्ध मुद्दा दर्ता भएको छ । वैदेशिक रोजगारीको लागि भन्दै स्थानीयबाट लाखौं रकम उठाएर ठगी गरेका गुर्भाकोट नगरपालिका–९ का कमानसिंह कामी विरुद्धको उजुरी बिहीवार दर्ता भएको हो । गुर्भाेकाट र भेरीगंगाका ९ जना पीडितहरूले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा (असार ९) गते मंगलबार ठगीको मुद्दा दर्ताका लागि जाहेरी दिएका थिए ।

जाहेरी दिनेमा गुर्भाकोट नगरपालिका–३ बस्ने लक्ष्मी पुन, वडा नम्बर ४ सहारे बस्ने हरिबहादुर वली, गुर्भाकोट–९ बोटेचौरका दीपक वली, नन्दलाल घर्ती, तुलबहादुर बुढा, छविकुमार खत्री र गुर्भाकोट नगरपालिका–११ बस्ने शेरबहादुर पुन मगर रहेका छन् । यस्तै भेरीगंगा नगरपालिका–८ खिमबहादुर डिसी र भेरीगंगा नगरपालिका–६ का रमेश पुन मगर रहेका छन् । उनीहरुले मंगलवार जाहेरी दिएपनि उनीहरुको जाहेरी बिहीवार मात्रै दर्ता भएको हो ।

जाहेरी दर्ता गरेर प्रहरीले आफ्नोतर्फबाट प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए । उनले भने, ‘हामीले बिहीवार उजुरी दर्ता गरेर शुक्रवार बिहान अदालतमा पठाएका छौँ, अदालतले हालसम्म अनि प्रकाउ पुर्जी जारी गरेको छैन्, जारी गरे लगत्तै हाम्रो काम काम अगाडि बढ्छ ।’ कमानसिँहले गुर्भाकोट र भेरीगंगा नगरपालिकाका केही नागरिकलाई ठगेका छन् ।

पीडितहरूले जाहेरीमा ‘कमानसिंह कामी चिनजानको मान्छे भए तापनि उनले २०७९ मंसिरदेखि आफू भारतको दिल्लीमा रहेको मेनपावरसँग मिलेर काम गर्न थालेको र माल्टाका विभिन्न कम्पनीमा मासिक ३ लाख ९० हजार नेपाली रुपैयाँसम्म तलब पाउने गरी १५÷२० जना कामदार पठाउने जिम्मा पाएको भनी झुक्याएको’ आरोप समेत लगाएका छन् । कमानसिँह गुर्भाकोट नगरपालिका सुर्खेतकी उपप्रमुख मैना विकका श्रीमान समेत रहेका छन् ।