गाउँपालिका अध्यक्षलाई थप्पड हानेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी पक्राउ

जुम्ला । जुम्ला गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढालाई थप्पड हान्ने गाउँपालिकाकी उपाध्यक्ष पक्राउ परेकी छन् । थप्पड हानेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल पक्राउ परेकी हुन् । गाउँ कार्यपालिकाको बैठकमा उपाध्यक्ष मल्लले आफूलाई थप्पड हानेको भन्दै अपराह्न ४ बजे बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका थिए ।

त्यसपछि मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी प्रल्हाद कार्कीले जानकारी दिए । अध्यक्ष बुढाले आफूमाथि उपाध्यक्ष मल्लले सुरुमा थप्पड हान्दै हातपात गरेको र पछि चप्पलले समेत हिर्काएको बताएका छन् । साथै आफुलाई न्याय दिलाइदिन प्रहरीलाई आग्रह समेत गरेका छन् ।

उपाध्यक्ष मल्लले आफूले अध्यक्षलाई हातपात गरेको स्वीकार गरेकी छन् । उनले आफूमाथि भएको अत्याचार सहन नसकेर हातपात गर्न बाध्य भएको बताएकी छन् । १० असारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूलाई जानकारी नगराई कार्यक्रम गरिएको, आफ्नो पक्षमा काम नगर्ने बित्तिकै प्रमुख प्रशासकीय बदल्ने जस्ता कामहरू अध्यक्ष बुढाले गरेको उनले आरोप लगाएकी छन् ।