१७ वर्षपछि बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

महोत्तरी | महोत्तरीको भंगाहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतो बहुविवाह आरोपमा पक्राउ परेका छन् । मंगलबार छलफलका लागि पुगेका महतोलाई प्रहरीले बहुविवाहको आरोपमा नियन्त्रणमा लिएको हो ।

उनकी जेठी श्रीमती ललिता देवीले सप्रमाण प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । महतोले ललितासँग २०५८ सालमा विवाह गरेका थिए । ललिता र महतोको छोरा र छोरी छन् । ललिताले श्रीमान्‌ले वर्षौंदेखि दोस्रो श्रीमती लुकाएर राखेको भन्दै प्रमाणसहित प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनकी जेठि श्रीमतीले पेस गरेको प्रमाणअनुसार २०६३ सालमा उनले दोस्रो विवाहसमेत दर्ता गरेको पाइएको प्रहरीले जनाएको छ । उनले कान्छी श्रीमतीलाई आफ्नै नामबाट नागरिकता समेत चितवन जिल्लाबाट दिलाएको पाएपछि पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए ।

हाल जनप्रतिनिधिका हिसाबले उनी जिल्लामा जेठी श्रीमतीसँगै बस्दै आएको र कान्छी श्रीमतीबारे अहिले सबैकुरा खुलिनसकेकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बुधबार उनलाई म्याद थप गर्न जिल्ला अदालतमा हाजिर गराइएको गिरीले बताए ।