
वैशाख २६, सुर्खेत । जाजरकोटको कुशे गाउँपालिकामा परीक्षा केन्द्रमा विद्यार्थीलाई चिट चोर्न सहज बनाइदिने भनेर विद्यार्थीबाट पैसा असुल गरिएको छ। लक्ष्मी माध्यामिक विद्यालय परीक्षा केन्द्र र जनता माध्यामिक विद्यालयमा विद्यार्थीबाट पैसा उठाएर केन्द्राध्यक्ष र सुरक्षामा खटिएका प्रहरीलाई ‘घुस खुवाएर’ चिट चोराउने भन्दै विद्यालयका लेखापालद्वारा कक्षा १२ को परीक्षा दिने सबै विद्यार्थीबाट पैसा असुल गरिएको हो।

आजबाट सुरु भएको कक्षा १२ को प्राविधिक र सामान्यतर्फबाट विद्यार्थीबाट पैसा असुल गरिएको छ। स्रोतका अनुसार जनता माविका २ सय जना विद्यार्थीबाट प्रवेश पत्र दिँदा प्रति विद्यार्थी एक हजार, थर्पु माविमा ३९ जना विद्यार्थीबाट प्रति विद्यार्थी २ हजार ५ सय र लक्ष्मी प्राप्ती माध्यमिक विद्यालयका १ सय ९५ जना विद्यार्थीबाट प्रति विद्यार्थी एक हजारका दरले रकम असुल गरिएको छ।
लक्ष्मी प्राप्ती माविका लेखापाल दलबहादुर सिंह र जनता माध्यमिक विद्यालयका लेखापाल दीपेन्द्र आरसीले पैसा लगेको स्रोतले जनाएको छ ।

विद्यार्थीबाट प्रवेश शुल्क बापतको उठाएको रकमबाट केन्द्राध्यक्षलाई ५० हजार रकम बुझाउने सर्त राखिएको एक विद्यार्थीले जानकारी दिएका छ्न् । कक्षा १२ को परीक्षा शुल्क परीक्षा अगाडि नै विद्यार्थीले परीक्षाको बोर्डको खातामा जम्मा गरिसकेका हुन्छन् । लेखापालद्वय सिंह र आरसीले परीक्षाको अघिल्लो दिन (हिजो) आइतबार विद्यार्थीबाट थप पैसा असुल गरेका हुन् ।
थर्पु माध्यामिक विद्यालयका स्टाफ सन्त विकले आफूहरुले विद्यार्थीबाट पैसा लिएको स्वीकार गरे। उनले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार परीक्षा व्यवस्थापनका लागि विद्यार्थीहरुबाट २ हजार ५ सयका दरले रकम उठाएको बताए। तर विद्यार्थीहरु भने परीक्षामा चिट चोराउन सहज बनाइदिने भन्दै रकम लिएको बताउँछन्।
राष्ट्रिय परीक्षा बोर्ड सुर्खेतका प्रमूख कृष्णप्रसाद श्रेष्ठले परीक्षाको समयमा विद्यार्थीबाट पैसा उठाउने विद्यालयलाई आवश्यक कारबाही गर्ने बताएका छ्न् ।