रास्वपाले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्छ ?

वैशाख १५, काठमाडौं । यदि रवि लामिछाने नेतृत्वको रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने विषयमा बहस हुन थालेको छ । गत पुस १० गते प्रचण्डले एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका दल र तीन स्वतन्त्र सांसद सहित १६९ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएर प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका थिए ।

सोही आधारमा गत पुस १० गते उनी प्रधानमन्त्रीमा नियुक्त भएका भएका थिए । पछि राष्ट्रपति चुनावमा सत्ता गठबन्धनमा खटपट भए भएपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिनुका साथै सरकारबाट बाहिरिने निर्णय गरे ।

तर, रास्वपा गत माघ २२ गते सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको थिएन । एमाले र राप्रपाले समर्थन फिर्ता लिएकै कारण प्रधानमन्त्रीले दोस्रो पटक गत फागुन ६ गते विश्वासको मत लिएका थिए ।

माओवादी केन्द्रका नेताहरु रास्वपाले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु नपर्ने बताउन थालेका छन् । तर, संविधानविद् चन्द्रकान्त ज्ञवालीले यदि रास्वपाले सरकार बनाउन हस्ताक्षर गरेको भएमा उसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने बताए ।

‘रास्वपाले सरकार गठन हुँदा हस्ताक्षर गरेको भए समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ । यस्तो अवस्थामा प्रधानमन्त्रीज्यूले तेस्रो पटक विश्वासको मत लिनैपर्छ,’ ज्ञवालीले भने, ‘यदि सरकार बनाउन हस्ताक्षर गरेको छैन । सरकार बनाउन कुनै भूमिका खेलेको छैन भने सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्दैन ।’

यद्यपि प्रचण्ड नेतृत्वको सरकारबाट रास्वपा बाहिरिए पनि सत्तारुढ गठबन्धनसँग प्रस्ट बहुमत भएकाले सरकारलाई भने कुनै समस्या पर्ने देखिएको छैन ।