भारतमा कोरोना संक्रमण बढेसँगै, परीक्षणबिना नेपाल प्रवेशमा रोक

चैत्र १८, महेन्द्रनगर । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले बताए । भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । उनले भने, “सङ्क्रमित दैनिक रुपमा देखा पर्न थालेपछि सीमाबाट भित्रिनेलाई अनिवार्य मास्क र कोरोना परीक्षण कार्य जारी राखेका छौँ ।”

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ । सङ्क्रमण समुदायस्तरसम्म नपुगोस् भन्ने उद्देश्यले सीमा नाकामा स्वदेश फर्किएकाको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो ।

भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेकाले यहाँका सबै नाकामा कडाइ गरिएको जोशीको भनाइ छ ।

सङ्क्रमित भेटिएका भारतीय नागरिकलाई फिर्ता पठाइयो

सीमानाका झुलाघाटबाट नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई भारत फिर्ता पठाएको छ । नेपाल आउन लागेका भारतको पिथौरागढका ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उनलाई नाकाबाटै भारत फिर्ता पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

भारतीय नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि झुलाघाट नाकामा पनि थप कडाइ गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । कोरोना सङ्क्रमण देखिन थालेपछि झुलाघाट नाकाबाट स्वदेश फर्कनेको कोरोना परीक्षण र अनिवार्य मास्क लगाएर मात्रै फर्कने नियम बनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४५ हजार छ सय ३४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय ४६ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।