नाउपामा भाँडभैलो विश्वासको मत दिने नदिनेबारे अलग अलग विज्ञप्ति

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीभित्र सरकारमा जाने वा नजाने बिषयमा भाँडभैलो मच्चीएको छ । रेशम लाल चौधरीले अलग बिज्ञप्ती जारी गरेका छन भने रञ्जिता श्रेष्ठबाट छुट्टै बिज्ञप्ती जारी गरिएको छ ।

श्रेष्ठ पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई ‘ह्वीप’ लगाएको छ भने चौधरी पक्षले सरकारमा नगएर प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक गरेको छ । मंगलबार दुईथरी विज्ञप्ति जारी गर्दै नाउपा सरकारको पक्ष र विपक्षमा देखिएको हो ।

नागरिक उन्मुक्ती पार्टी संसदीय दलका नेता श्रेष्ठले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथी प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको ब्यहोरा अनुरोध छ ।’

यस्तै अर्को पक्षले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने प्रतिपक्षमा बस्ने सरकारलाई समर्थन नदिने उल्लेख गरेको छ । यस्तै प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरुसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने बताएको छ ।