केन्द्रिय राजनीतिको प्रभाव प्रदेशमा, सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

केन्द्र सरकारमा देखिएको राजनैतिक परिवर्तनको प्रभाव प्रदेशमा समेत देखिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारमा रहेका माओवादी केन्द्रका तीन जना मन्त्रीलाई बर्खास्त गरिदिएका छन् ।

माओवादीका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाईदिएका हुन् ।

सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता शाहको नेतृत्वमा प्रदेश सरकार छ । यसअघि माओवादी, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीसहितको सरकार थियो । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री शाहले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका हुन् । नागरिक उन्मुक्ति र समाजवादीका मन्त्रीलाई भने यथावत राखेका छन् ।