एमालेकाे धादिङ अधिवेशन, कार्यकर्ताबिच कुटाकुट, अधिवेशन स्थगित

धादिङमा एमालेको जिल्ला अधिवेशनको क्रममा कार्यकर्ताबिच कुटाकुट भएपछि अधिवेशन स्थगित ।
शुक्रबारदेखि सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा शनिबार बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जानकारी दिए । यही क्रममा केही कार्यकर्ता घाइते भएको पनि ढुंगेलले बताए ।
आइतबार विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको ढुंगेलले जानकारी दिए । बन्दसत्रमा कुटाकुट हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाचिएको छ ।
‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखापर्‍यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।