बागमती प्रदेशका प्रमुख सचेतकले दिए पदबाट राजीनामा

बागमती प्रदेशका नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

उनले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गरेका हुन् ।

काफ्लेले सामाजिक सञ्जालमा दलका नेता समक्ष राजीनामा दिएको तस्बिर सार्वजनिक गर्दै प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठनको काममा समय दिन नसकेको र दोलखाको जनताको सेवामा थप समर्पित हुन मन लागेकाेले प्रमुख सचेतकबाट राजीनामा दिएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु’ ।

काफ्लेले प्रमुख सचेतकको भूमिकामा हुँदा सहयोग गर्ने बाग्मती प्रदेशका पार्टीका सांसदलाई धन्यवाद समेत दिएका छन् ।