
नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषदले सञ्चालन गर्ने चारदिने संघीय नमुना युवा संसद–२०८० काे प्रधानमन्त्रीमा कर्णाली प्रदेश कालिकोट जिल्लाकाे महाबै गाउँपालिकामा जन्मेका लाेकेश पाेख्रेल बहुमतले निर्वाचित भएका छन् ।आइतबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सो कार्यक्रमको उदघाटन गरेका थिए ।

राष्ट्रिय युवा परिषदले युवाहरुको नेतृत्व विकास र क्षमता विकासका लागि वार्षिक रुपमा संघीय नमुना संसद सञ्चालन गर्ने गरेको छ । राष्ट्रिय युवा परिषदको कार्यविधि अनुसार पहिलो चरणमा स्थानीय तहमा नगर÷गाउँ सभाको अभ्यास गराइन्छ । नगर÷गाउँबाट छनौट भएका युवालाई दोस्रो चरणमा प्रदेश नमुना संसदमा सहभागी गराइने र त्यहाँबाट पनि छनौट भएकालाई तेस्रो चरणमा संघीय तहमा सहभागी गराइने परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
सातैवटा प्रदेशमा नमुना युवा संसद सञ्चालन भएपछि सबै प्रदेशबाट सिफारिस भई आएका ९० जना सहभागी सहित संघीय तहमा युवा संसद शुरु भएको छ । नमुना संसद अभ्यासका क्रममा १६–२४ वर्षका युवाहरुले दिगो विकास लक्ष्य, संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य, संविधानका अन्तरवस्तु, शासकीय प्रणाली, संघीयता, युवाका मुद्दा, जलवायु परिवर्तन आदि विषयमा बहस तथा छलफल गर्ने बस्नेतले बताए ।

चारदिन चल्ने नमुना संसद अभ्यासका विभिन्न सत्रमा प्रतिनिधि सभाका पूर्व सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाल, पूर्व राजदूत महेश दाहाल, सञ्चारकर्मी टिकाराम यात्री, प्रशिक्षक प्रकाश उपाध्याय, संघीय संसद सचिवालयका सहसचिव वविता मिश्र, क्रियजनका आनन्द मिश्र लगायतले सहजीकरण गरिरहेका छन् ।