पृथ्वीसुवा गुरुङले सुर्खेत आएर भनें : वर्तमान सरकारबाट मुलुकको विकास असम्भव छ !

चैत्र २१, सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुवा गुरुङले नेपालको वर्तमान गठबन्धन सरकारको नेतृत्वमा मुलुकमा विकासको सम्भावना नरहेको बताएका छन् । सोमबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गुरुङले वर्तमान गठबन्धन सरकारले हनिमुन मनाइसकेको भए पनि सरकारले मन्त्रिपरिषद् लाई पूर्णता दिन नसकेको भन्दै आलोचना गरेका हुन् ।

गुरुङले नेपालमा आर्थिक र सामाजिक क्षेत्र कमजोर बन्दै गएको पनि प्रकाश पार्दै सरकारले यी विषयमा पर्याप्त ध्यान नदिएको आरोप लगाए । उनले यी समस्यालाई सम्बोधन गर्ने र रचनात्मक समाधान खोज्ने जिम्मेवारी अब एमालेको भएकोमा जोड दिए ।

साथै गुरुङले एमाले अब सरकार गठन वा ढाल्ने पक्षमा नरहेको दाबी गर्दै वर्तमान राजनीतिक ढाँचाभित्र रहेर सकारात्मक परिवर्तन ल्याउन पार्टी केन्द्रित रहेको बताए । उनले यस क्षेत्रको बढ्दो जटिल भूराजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यी चुनौतीलाई नेपालले होसियारीका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।