
चैत्र १९, आईतवार काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित उम्मेदवारहरुको रिक्त रहेको तीनस्थानमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरुले बलिया उम्मेदवारहरु खडा गरेपछि रोचक भिडन्त हुने देखिएको छ ।
आगामी वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।

नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ १ रिक्त रहेको छ र जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा क्षेत्र नम्बर २ मा पनि रिक्त रहेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि चितवन २ मा पनि रिक्त रहेको छ ।
तनहुँ १ मा नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई अघि सारेको छ र एमालेले काठमाडौंबाट पराजित पूर्व आईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निणर्य गरेको छ ।
कांग्रेसले गठबन्धलाई अघि सारेपछि कांग्रेस परित्याग गरेका अर्थविद् स्वणर्िम वाग्लेलाई रास्वपाले तनहुँ १ मा उम्मेदवार घोषणा गरेको छ ।
वाग्ले कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेपछि कांग्रेसका लागि यो क्षेत्र प्रतिष्ठाको विषय बनेको छ ।
कांग्रेसले माओवादी, एकीकृत समाजवादी लगायतका गठबन्धनको साथमा भट्टराई जिताउने रणनीति बनाएको छ ।
मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए ।
उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत ल्याउँदा स्वतन्त्रबाट कांग्रेसकै पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८८६ र राष्ट्रिय स्वतन्त्रका पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए ।
यस्तै, बारा २ को उपनिर्वाचनमा सप्तरीमा सीके राउतसँग भारी मतले पराजित भएका उपेन्द्र यादव प्रतिष्पर्धामा उत्रिने तयारीमा छन् ।गठबन्धनको साथमा चुनाव जित्ने रणनीति बनाएका यादवलाई हराउन सीके राउतले माओवादीका शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाउँदैछन् ।
यो क्षेत्रमा रामसहायसँग शिवचन्द्र ३ सय ५४ मतान्तरले मात्रै पराजित भएका थिए । रामसहायले १३ हजार ८२२ मत प्राप्त गरी निर्वाचित हुँदा कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए ।अघिल्लो निर्वाचनमा रामसहायलाई एमालेले साथ दिएको थियो भने कुशवाहलाई कांग्रेस, एकीकृत समाजवादी लगायत पाँचदलीय गठबन्धनेको साथ थियो ।
उपनिर्वाचनमा यो क्षेत्रमा लोसपाले राजेन्द्र महतोलाई अघि सारेको छ भने रास्वपाको चुनावचिन्हबाट पूर्व प्रहरी रमेश खरेल उम्मेदवार बन्दैछन् ।
चर्चित नेताहरुबीचको उम्मेदवारी दिने घोषणाले यो क्षेत्रमा रोचक भिडन्त हुने देखिएको छ ।
चितवन २ बाट निर्वाचित भई उम्मेदवार खारेज गरिएका लामिछाने सोही ठाउँबाट पुनः उम्मेदवार बन्दैछन् । पुरानो नागरिकता खारेज भएपछि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नयाँ नागरिकता निकालेका थिए ।लामिछानेको क्षेत्रमा एमालेले युवा नेता रामप्रसाद न्यौपाने लाई उम्मेदवार बनाउने जनाएको छ । नेपाली कांग्रेसले पूर्व सभापति जितनारायण श्रेष्ठ उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।
रास्वपा १० दलीय सत्ता गठबन्धनमै रहे पनि गठबन्धनका अन्य दलहरुले साथ नदिने स्थिति छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले यो क्षेत्रमा अहिलेसम्म उम्मेदवार घोषणा गरेको छैन ।
मंसिर ४ का निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत ल्याउँदा गठबन्धनका साझा उम्ेमदवार कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए ।
सांसद पद रिक्त भई उपनिर्वाचन हुन लागिएको तीन वटै क्षेत्रमा यसअघि निर्वाचित भएको तीन वटै पार्टीका लागि आफ्नो प्रतिष्ठाको विषय बनेको छ ।