उद्योग मन्त्रालय नपाएपछि खानेपानी मन्त्री अब्दुलले दिए राजीनामा

चैत्र १७, काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले उद्योग मन्त्रालय नदिएपछि शुक्रबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काललाई खानेपानी मन्त्रालय सम्हाल्न र पछि मिलाउने भनेर खानलाई खानेपानी मन्त्रालयकै जिम्मेवारी दिइएको थियो । तर, मन्त्रिमण्डल पुनर्गठनमा पनि उद्योग मन्त्रालय नदिइएपछि खानले पदबाट राजीनामा दिन बाध्य भएको स्रोतले लाईका खबरलाई बतायो ।

जनमतले सुरूदेखिनै उद्योग मन्त्रालयको दाबी गर्दै आइरहेको थियो । तर, जनमतलाई खानेपानी दिएर एमालेले उद्योग मन्त्रालय दिइएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आज (शुक्रबार) कांग्रेससहितका दलहरुसँगको गठबन्धनमा मन्त्रिमण्डल पुनर्गठन गर्दै छन् ।