मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

मकवानपुर | हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको हो ।

गएराति अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताए ।

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा छ ०।

‘जानकारी आउनासाथ आफू घटनास्थल पुगेर हेर्दा मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक गल लगाएर उखेलेर फालिएको अवस्थामा थियो,’ उनले स्रोतसँग भने ।

भण्डारीका अनुसार पार्कमा रहेका अन्य संरचना भने यथावत छन् । ‘त्यहाँ रहेका गमला, बत्ती र सँगै रहेको बुद्धको शालिक केही नगरिनु र यी दुई शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य हो’, उनले भने, ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सायद चाडै अपराधि पत्ता लाग्छ होला ।’