सहमती पश्चात बिहान ८ बजेदेखि सबै पेट्रोल पम्प खुल्ने

आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति र नेपाल आयल निगमका बिचमा चार बुँदे सहमती भएसँगै आजदेखि पेट्रोलियमको बिक्री वितरण सहज हुने भएको छ ।

टेकुस्थित निगमको केन्द्रीय कार्यालयमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको जनाइएको छ । सहमतिसँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने निगमले जानकारी दिएको छ ।

पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धीको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमले जानकारी दिएको छ ।

सहमतिपछि आन्दोलनरत् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले सबै विरोधका कार्यक्रम फिर्ता लिने निणर्य गरेका छन् ।