माैसमविद भन्छन्, ‘तत्काल झरी, बाढी-पहिरोको सम्भावना पनि छैन ।’

मनसुन निष्क्रिय भएकाले तत्काल तीन दिनसम्म लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् ।

वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार ‘काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा बादल लागेको छ । तराई तिर भने घाम लागेको छ । तर लगातार ठूलो वर्षा हुने सम्भावना छैन, काठमाडौंमा पनि शीतल छ । तर तुरुन्तै पानी पर्ने देखिँदैन ।’

मौसमविद पौडेलका अनुसार कोशी प्रदेशको संखुवासभा लगायतका एक-दुई स्थानमा हल्का वर्षा भएको छ । तर झरी जस्तो भने छैन् ।

आज र भोलि बेलुकाको समयमा पूर्व र मध्य पहाडी भेगहरुमा तथा पोखरा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तुलनात्मक हिसाबले पर्सि (शनिबार) कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई ठाउँमा मात्रै भारी वर्षाको सम्भावना रहेका मौसमविद पौडेलले जानकारी दिए ।

‘अहिले मनसुन सक्रिय छैन । नयाँ प्रणाली पनि तत्काल आउने देखिंदैन,’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘तत्काल झरी, बाढी-पहिरोको सम्भावना पनि छैन ।’