रूखमा भोट हालेको भन्दै सल्यानमा कांग्रेस नेतामाथि कुटपिट

बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको ‘रूख’ चुनाव चिन्हमा मतदान गरेको आरोपमा सल्यानमा नेपाली कांग्रेसका व्यक्तिमाथि कुटपिट भएको छ । मध्यरातमा एक जना महिलामाथि नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका नेतामाथि आक्रमण गर्नुको साथै एक महिलामाथि करणीको प्रयाससमेत भएको खुल्न आएको प्रहरीले बताएको छ ।

कुटपिटबाट त्रिवेणी गाउँपालिका वडा नं. २ राधागिटीका ३७ वर्षीय खिमबहादुर पुन घाइते भएका छन् । लाठी प्रहारबाट पुनको टाउको र शरीरमा घाउखत लागेको छ ।

जिल्ला अस्पताल सल्यानको उपचारपछि घाइते पुनलाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गराएको छ ।

पुन र उनको परिवारमाथि अनाहकका आक्रमण गर्ने तथा बलात्कारको प्रयास गर्नेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा एमालेका कार्यकर्ताहरू त्रिवेणी–२ राधागुटीका २४ वर्षीय शोबबहादुर पुन, ३० वर्षीय जोगेन्द्र नेपाली, ४५ वर्षीय इन्द्रबहादुर पुन र एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए ।