चुनाव हार्नुको कारण अन्तरघात र राज्यसत्ताको चरम दुरूपयोग : ओली

एमाले अध्यक्ष केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले पहिलो हुन नसक्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन् । बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्।

‘अरू पार्टीका कारण होइन ‍यसपटक एमालेमा अन्तरघात भयो । यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा गरिनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं । भकाभक उपमेयर जित्ने, मेयर हार्ने भन्ने हुँदैन ।’

‘अरू पार्टीमा नभएको यस्तो अन्तरघात हाम्रो पार्टीमा मात्रै कसरी भयो हामीले खोज्नुपर्छ,’ ओलीले बैठकमा भने,‘ अर्को कारण राज्यसत्ताको चरम दुरूपयोग भयो । केही ठाउँमा हाम्रा साथीहरूको हत्यासम्म भयो । लोकतन्त्रको चीरहरण गर्ने काम भयो। त्यसले पनि हाम्रो मतमा प्रभाव पार्‍यो ।’

वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । अब काठमाडौं महानगरसहित ६ पालिकामा मात्र अन्तिम परिणाम आउन बाँकी छ ।

एमाले यसपालि दोस्रो दल बनेको छ । २०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै मेयर/अध्यक्ष जितेको छ ।