मतदाताको पाउमा हजारको नोट राखेर भोट मागेको हो/होइन भन्ने स्पष्टीकरण पेस गर्न आयोगको आदेश

सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० को वडा अध्यक्ष पदका उमेदवार अमृत खनाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्ने निर्वाचन आयोगको आदेश रहेको छ ।

मतदाताको पाउमा एक हजारको नोट राखेर भोट माग्दै गरेको फोटो सहितको समाचार सार्वजनिक भएपछि निर्वाचन आयोगले खनालसँग स्पष्टीकरण मागेको हो ।

“तपाईंले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य भएको हो होइन ? निर्वाचन आचारसंहिता, २०७८ मा मतदातालाई प्रभाव पार्ने गरी कुनै किसिमको गतिविधि गर्न नपाइने भन्ने व्यवस्था रहेकाले त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिइएको छ,“ आयोगको पत्रमा भनिएको छ ।

निर्वाचन आयोगले वडाअध्यक्षका उमेदवार खनाललाई उक्त कार्य हो वा होइन भन्ने आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्ने आदेश दिएकाे छ ।