माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश

नुवाकोट | सत्तारुढ नेकपा माओवादीबाट रसुवाको गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गरेका उम्मेदवार प्रमुख प्रतिपक्षी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार नेकपा (एमाले) मा प्रवेश गरेका हुन् ।

माओवादीको गाउँपालिका इन्चार्जसमेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिन छेसाङतामाङ उम्मेदवारी लत्याएर एमालेमा प्रवेश गरेका हुन् । यही वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन् |

एमाले नै देशको प्रमुख शक्ति भएकाले माओवादीबाट दिएको आफ्नो उम्मेदवारी समेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको उनको भनाइ छ । निस्वार्थ भावनाले एमाले शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शमा माओवादी छोडेको तेन्जिन छेसाङतामाङले बताए ।

शिवपुरीमापनि दुई दर्जन एमाले प्रवेश

पछिल्लोपटक दलको नीतिप्रति असहमति जनाउँदै सत्तारुढ दलहरुबाट पार्टी त्याग गर्नेहरुको संख्या बढिरहेकै छ । सत्तारुढ दलले कार्यकर्ताको भावनालाई कदर गर्न नसकेको जनाउँदै कांग्रेस, माओवादी, समाजवादीलगायतका दल छाड्नेहरु बढिरहेका छन् हुन् ।

नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरीबाट दुई दर्जन जनाले कांग्रेस परित्याग गरेका छन् । उनीहरुले प्रमुख प्रतिपक्षि दल नेकपा एमालेमा प्रवेश गरेका छन् ।