मेयरमा उम्मेदवारी दिन हेलिकप्टर चढेर गएका धर्मराजको टिकट खोसे देउवाले

नेपाली कांग्रेसले खोटाङस्थित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकट पाएका धर्मराज पोखरेलको टिकट खोसेको छ । प्रदेश नम्बर १ पार्टी संसदीय समितिका सभापति उद्धव थापाले पोखरेललाई मेयरको टिकट दिए पनि विवाद भएपछि उनको टिकट केन्द्रीय सभापति शेरबहादुर देउवाले खोसेर अर्कै उम्मेदवार बनाएका हुन् ।

मेयरको टिकट पाएपछि पोखरेल हेलिकप्टर लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए । तर उनलाई असन्तुष्ट कांग्रेस कार्यकर्ताले नै कुटपिट गरे । प्रहरी र मानव अधिकारकर्मीले उनलाई पार्टी कार्यालय र मुख्य निर्वाचन अधिकृत कार्यालय पुर्याइएको थियो ।

सभापति देउवाले दिक्तेल रूपाकोट मझुवागढीको मेयर उम्मेदवार तीर्थराज भट्टराई भएको पत्र निर्वाचन अधिकृत कार्यालयमा पठाएका थिए ।

भट्टराईले मेयरमा सोमबार नै उम्मेदवारी दर्ता गरिसकेका छन् ।