काठमाडौंको मेयरमा एमालेका स्थापितको उम्मेदवारी दर्ता

काठमाडौँ | नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गरेका छ्न् । मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डंगोलले सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए । एमालेको तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नाराका साथ मेयरको निर्वाचनमा उठेका थिए । यसका साथै उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा काठमाडौं महानगरको मेयरमा पुनः मनोनीतसमेत भएका थिए ।

त्यस्तै उपमेयरकी उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डंगोललाई उपमेयर बनाउने निर्णय गरेको थियो ।