बुधबारदेखि वीरेन्द्रनगरमा दोस्रो कर्णाली चलचित्र कार्यशाला संचालन हुदै

दोस्रो कर्णाली चलचित्र कार्यशाला फागुन २३ गतेबाट संचालन हुने भएको छ । सुर्खेतमा हुने कार्यशाला आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रा.लि.ले फागुन २९ गतेसम्म गर्ने छ ।

‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर भएको र सांस्कृतिक विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनकै लागि गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएको प्रालिका अध्यक्ष भुपेन्द्र कुमार खड्काले जानकारी दिए ।

यसअघि २०७९ असारमा पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमै आयोजना गरिएको थियो । पहिलो कार्यशालामा फिल्म सम्बन्धी आधारभूत कुरा सिकाइएको थियो । यसपटक आधारभूत कोर्स पढेकासहित नयाँ विद्यार्थीलाई ‘एड्भान्स कोर्स’ सिकाइने खड्काले बताए ।

कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका अभिनेता भुवन केसीले अभिनय सम्बन्धी मास्टर क्लास दिनेछन् । फिल्म निर्देशक दयाराम दाहालले पनि निर्देशनबारे विशेष क्लास दिने भएका छन् । यस्तै फिल्म लेखक तथा सञ्चारकर्मी डब्बु क्षेत्रीले लेखन र निर्देशनको प्रयोगात्मक सहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धी प्रशिक्षण दिनेछिन भने मेकअप आर्टिस्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिनेछिन् ।

कार्यशालामा सहभागी विद्यार्थीले तीनवटा डकुमेन्ट्री र तीनवटा सर्ट फिल्म पनि निर्माण गर्ने जनाइएको छ । कार्यशालामा कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।