
भाद्र १६,शनिबार बिरेन्द्र बुढा, सल्यान

समाजमा कोही यस्ता मानिस पनि हुन्छन जो समाजसेवा भनेपछि हुरुक्कै हुन्छन । आफ्नोभन्दा अरुको हितमा तनमन र कर्मको अधिकांश हिस्सा समर्पण गर्छन । सादा जीवन उच्च विचारको सुगन्धले आफूमात्र नभई सिंगो समाज र देशलाई पनि सुगन्धित बनाउने प्रयत्न गर्छन । हिजोआज सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा समाजसेवीका नामले निकै चर्चा कमाएका व्यक्ती हुन तुलाधर नेपाली ।

उनले कोरोना महामारीको बेला अलपत्र परेका रुकुम, जाजरकोट, सल्यानका धेरै नागरिकलाई सुरक्षित आवास र यातायात व्यवस्थापन सहित राहत प्रदान गरेका थिए । बनगाड कुपुन्डे नगरपालिका ०१ निवासी ५२ वर्षीय धन बहादुर राणा घाँस काट्ने क्रममा रुख बाट लडेर मेरुदण्डमा गम्भीर चोट (Severe Spinal Cord Injury) लागेर उपचारका क्रममा परिवारमा आर्थिक अभाव हुँदा विभिन्न सहयोग अभियान चलाई ठूलो आर्थिक सहयोग संकलन गरेर परिवारलाई उपचारमा सघाएका थिए ।


उक्त नगरको गैरीबजार क्षेत्रमा नालामा फोहोर जम्माभै बर्षा याममा पानी नालिको सतह भन्दा बाहिर आई उक्त क्षेत्र डुबानमा परी क्षती पुर्याउदा उनी एक्लैले नाली सरसफाई देखी मर्मत कार्य सम्म गरेका थिए । बेलाबेलामा नकारात्मक टिप्पणी र आलोचना आइरहदा पनि उनले सामाजिक कार्यलाई निरन्तरता दिईनैरहेका छन् । नगरको श्री कृष्ण बोर्डिङ स्कुल नजिकै पिपलको रुखमुनी चौतारी निकै आवश्यक थियाे, तर यसमा सम्बन्धित व्यक्ती तथा निकाय कसैकाे ध्यान जान सकेकाे थिएन । कसैले कुनै चासो नदेखाएपछि आफै जुटेर चौतारी निर्माण गरेका थिए ।

अन्ततः सबैको हौसला र माया पाउदै गए पश्चात अहिले उनी बनगाडमा रहेको ऐतिहासिक तथा धार्मिक धरोहर श्री कृष्ण मन्दिरको निर्माण कार्यमा लागिरहेको जानकारी दिएका छन । बर्षौ देखी जिर्ण बन्दै गईरहेको श्री कृष्ण मन्दिर उक्त नगरको प्रमुख धार्मिक स्थल हो । मन्दिर मर्मत र निर्माणका लागि विभिन्न सहयोगदाताहरुबाट २,१६,९८१ रकम संकलन भएको थियो ।उनका अनुसार २,०६,१६० रुपैयाँ मन्दिरको मर्मत, निर्माण, तारजाली, रङ्गरोगनमा खर्च भएको छ ।

उनले बाँकी रहेको १०,८२१ रुपैयाँ मध्ये केही रकम चौतारी निर्माण, केही रकम खेलकुद प्रतियोगितामा सहयोग गर्ने र बाँकी रकम यसै क्षेत्रका ब्लड क्यान्सरबाट पिडित ८ बर्षिय बालक निरज बुढाको परिवारलाई बुझाउने जानकारी दिएका छन् । उनका अनुसार समाजलाई समाज जस्तो बनाउन सबै मानिस हरु स्वार्थ, लोभ र पाप बाट माथी उठ्नुपर्छ । समाजलाई सकारात्मक दिशामा पुर्याउन सबैको हातेमालो र सहकार्य आवश्यक पर्दछ । उनले आउँदा दिनमा यस्तै सहयोग र सत्कर्म गर्न पाँउ भन्दै श्री कृष्ण मन्दिर निर्माण कार्य सम्पन्न भएको घोषणा गरेका छन ।