दैलेखमा राउटेजातीलाई अल्कोहल, अखाद्यबस्तुहरु बितरणमा रोक, भेटनका लागि गुराँस गाँउपालिका संग समन्वय गर्नुपर्ने


दैलेखको गुराँस गाँउपालिकाकाे कार्यपालिका बैठकले लोपउन्मुख जाती राउटेलाई भेटनका लागि अनुमति लिनुपर्ने निणर्य गरेको छ । उद्धेश्य प्रस्ट पारेर पालिकाको अनुमति लिएर मात्रै भेटघाट र सम्पर्क गर्न दिने निणर्य भएको पालिकाका प्रबक्ता तथा वडा नम्बर ८ का अध्यक्ष दिपेन्द्र वलीले जानकारी दिए ।

बैठकमा राउटे समुदायका मुखियालाई समेत बोलाएर उनिहरुको समस्याका बारेमा छलफल गरिएको थियो । छलफलका क्रममा राउटे समुदायको बस्तीमा बिभिन्न ब्यक्ती, संघ, सस्था जाने, फोटो खिच्ने, भिडियो बनाउने, अनावश्यक कुरा बोल्न लगाउने, अनुमति बिनै घर भित्र छिरेर फोटो भिडियोहरु बनाउने, स्वास्थ्यलाई हानी पुग्ने खालको जंकफुडहरु जथाभावी बितरण गर्ने, बच्चा बच्ची, महिलाहरुलाई सस्तो खालको अल्कोहल दिएर बिभिन्न कुरा बोल्न लगाउने, महिलाहरुलाई दुब्यवहार गर्ने खालको समस्या सृजना भएको राउटेको मुखियाले बताएको पालिकाका अध्यक्ष टोप बिसीले जानकारी दिए ।

उनले भने हामी राउटे समुदायको समस्या प्रति गम्भिर छौ । राउटे समुदाय भित्र देखिएको बिकृती, बाहिरी समुदायले सृजना गरेको समस्याका बारेमा चिन्तित छौ । राउटे समुदायभित्र अल्कोहल सेवन गर्नेको संख्या ह्वात्तै बढेको छ । जसकार कारण राउटे समुदायको प्रजनन क्षमतामा ह्रास आएर राउटेहरुको संख्या समेत घटदै गैरहेको छ ।

यति मात्रै होईन राउटे समुदायलाई राहत बितरणका नाममा अखाद्य बस्तु, पुराना लत्ता कपडा जस्ता कुराहरु आफुखुसी बितरण गरिदिँदा राउटे समुदायको पहिचान र सस्कारमा सामेत केही अप्ठेरो परेको महसुस गरेका छौ र यो कुरा स्वएं राउटे समुदायका प्रतिनिधीले नै बताईसकेपछी हामीले यसलाई नियमन गर्न र राउटे समुदाय, उनिहरुको सस्कार र सभ्यतालाई बचाई राख्नका लागि पनी यो निणर्य गरेका हौ ।

अध्यक्ष बिसीले भने अब हामी अल्कोहल, अखाद्य बस्तु, पुराना लत्ताकपडा जस्ता अनावश्यक कुरा बितरण गर्न दिने छैनाै । कसैलाई राहत दिनै मन लागेको भए राउटेको मुखियासंग समन्वय गरेर उनिहरुलाई कुन कुराको आवश्यकता छ ? आवश्यकताका आधारमा राहत दिने खालको वातावरण मिलाईने छ । कसैले भिडियो, फोटो, स्टोरी बनाउनै पर्ने भए कुन प्रयोजनका लागि हो ? खुलाएर मात्रै समुदायलाई अप्ठेरो नपर्ने गरी काम गर्ने बाताबरण मिलाईने छ । खास गरी हामीले दुवै पक्षलाई सहज होस, भन्नका लागि पनी यो निणर्य गरेका हौ ।