सल्यानमा मनाइने राेचक घिया तिहार जहाँ भेरी नदिमा हामफालेर मनाइन्छ

बिरेन्द्र बुढा सल्यानः घिया तिहार अर्थात भेरिमा हाम फाल्ने पर्व भनेर पनी चिनिएकाे छ । सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ काे अम्रा भन्ने स्थानमा हरेक बर्ष भाद्र १ गत्ते श्रावण शुक्ल पक्षका दिन घिया त्यार(घ्यू खाने पर्व) निकै रोचकता साथ मनाउने प्रचलन रहेको छ । उक्त दिन तन्दुरुस्त शरीरको लागी घ्यू खानु पर्छ भन्ने प्रचलन रहेको छ । उक्त पर्वमा अम्रामा घ्यू मिश्रित विभिन्न परिकारहरु बनाई खाने प्रचलन चलि आएको छ । उक्त दिन अर्थात भाद्र १ गत्ते जमिन छोड्दा मात्तम (लाभ) हुन्छ भन्ने कुरामा मानिसहरु विश्वास गर्छन ।

अनाैठाे त के छ भने उक्त दिन गाउँका मानिसहरु भेरी नदिमा पौडी खेलेर र पिङ खेलेर मात्तम लिने अनौठो प्रचलन रहेको छ । सिम्ता गाउँपालिका सुर्खेतको राकम र बनगाड कुपिण्डे न.पा को देबस्थल नजिकै भेरी किनार देखी अम्रा सम्म करिब ३.५ कि मि को दुरिमा बर्षा याममा बढेर सरवर भएको नदिमा युवा हरु चिन्ना(लौका प्रजातिको एक प्रकारको फल) र ट्युब शरीरमा बाधेर नदिमा हाम फालेर पौडीन्छन र रमाइलाे गर्ने गछर्न ।

गाउँका महिलाहरुले जङ्गल बाट कैंयार (खर) काटेर ल्याउने गर्छन । गाउँका केटाकेटी, युवा र बुडापाका मिलेर खरबाट पिङ्ग बनाउने काम गर्छ्न । पिङ बनाई सके पछि पिङको दुबै (पुच्छर र टाउको) तर्फ मानिस लागेर पिङको कुन भाग कस्ले पहिले पानीमा भिजाउने होडबाजीमा पिङलाई न्वारन देखिको बल लगाएर तानातान गर्ने गर्छन । यसमा औधी रमाइलो हुने गर्छ । पिङलाई पानीमा भिजाई सके पश्चात माथी पिपलको रुखमा ल्याएर सुरक्षित सङ्ग बाधिन्छ ।

पिङ बनाई सके पश्चात सबै जना पालैपालो मिलेर पिङ्ग खेल्ने गरिन्छ । छिन्चु-जाजरकोट सडक खण्डको किनारमा नै यो उत्सव लाग्ने भएको हुँदा बाटोमा आवतजावत गर्ने यात्रु हरु पनि आ आफ्नो सवारीसाधन रोकेर पिङ खेलेर आनन्द लिने गर्छन । उक्त दिन महिलाका लागि बिशेष दिन हुने गर्दछ । महिला हरु रातो साडी र गर गहनाले सु-सज्जित भै भव्य नाचगान गर्ने गर्छ्न । रोपाइँ र मेलापात भ्याई सकेपछि जेठो तिहारका रुपमा यो उत्सव मनाइन्छ ।