वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको हृदयघातका कारण निधन

वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको आज हृदयघातका कारण निधन भएको छ । हाल इत्राम ७ मा बस्दै आएका क्षेत्रीको मंगलबार विहान ११ः३० बजेको समयमा निधन भएका । ५२ वर्षीय क्षेत्रीको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा निधन भएको हो ।

आज (मंगलबार) बिहान ९ बजे उनी वीरेन्द्रनगरको बुलबुलेमा डुंगा उद्घाटन कार्यक्रममा उद्धोषण गरेका थिए । कार्यक्रम समापनपछि छाती दुख्यो भन्दै गाडीसम्म हिडेरै आएका उनी लगत्तै बेहोस भएका थिए । त्यस लगत्तै उनलाई प्रदेश अस्पताल कालागाउमा भर्ना गरिएको थियो ।

चिकित्सकले बचाउने सक्दो प्रयास गरेपनि अक्सिजनको लेभलमा सुधार नभएपछि अस्पतालमै निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

केहीदिन अघि मात्रै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी निलम्बनमा परेपछि क्षेत्री लेखासँगै निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । २०७४ साउन १५ देखि वीरेन्द्रनगर नगरपालिकाको लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

क्षेत्रीको जन्म घर पर्वत जिल्लामा हो । उनका श्रीमती, एक छोरा र दुई छोरी छन ।