बाँकेमा एक दम्पती घाँटी रेटिएको अवस्थामा फेला

बाँकेमा एक दम्पती घाँटी रेटिएको अवस्थामा फेला परेका छन। जिल्लाको खजुरा गाउँपालिका – ३ का २९ वर्षीय महेन्द्र रावत र उनकी २७ वर्षीया श्रीमती रितासिंह ठकुरी धारीलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेका छन ।

सोमबार जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार उनीहरू आफ्नै घरको कोठाभित्र घाँटीमा गहिरो घाउ भएको अवस्थामा फेला परेपछि उद्धार गरी अस्पताल पुर्‍याइएको हो ।

अहिले उनीहरूको नेपालगञ्ज नर्सिङ होममा उपचार भैरहेको छ । अहिले दुबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्द कोठामा यो घटना भएका कारण तथ्य खुल्न नसकेको बताए ।

प्रहरीले ढोका फोडेर उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याएको जनाएको छ ।
‘श्रीमान-श्रीमतीले आपसमा हानाहान गरेको जस्तो देखिएको छ,’ उनले भने, ‘मासु काट्न प्रयोग हुने जस्तो धारिलो हतियार दाउ पनि नजिकै फेला परेको छ।’ त्यो हतियार पनि प्रहरीले फेला पारिसकेको उनले बताए ।

स्थानिय अनुसार आमा बाहिर निस्किएको समयमा उनीहरूले एकले अर्कालाई घाँटीमा धारिलो हतियार प्रयोग गरेको आशंका हुने बताएका छन ।

यस घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।