गुलियो चीजका कारण हुने खतराहरु

मानिसहरु प्राय गुलियो चीजहरु खाईरहेका हुन्छन । तर के तपाईलाई थाहा छ ? कती मात्रामा हामीले गुलियो अर्थात गुल्कोज खानु जरुरी हुन्छ ?
डाक्टरहरूका अनुसार भोको पेटको ब्लड सुगर १०० र खाना खाएपछिको ब्लड सुगर १४० सम्म सामान्य मानिन्छ । यदि बुवाआमालाई मधुमेह छ भने छोराछोरीलाई पनि मधुमेह हुने खतरा ५० प्रतिशत हुन्छ ।” यदि ब्लड सुगर बढी मात्रामा हुन गएमा मधुमेह को सिकार सजिलैसंग हुन्छ ।
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयस्थित पीडिएट्रिक एन्डोक्रिनलजिस्ट तथा ’सुगर, द बिटर ट्रूथ’ पुस्तकका लेखक डा. रोबर्ट लस्टिगका अनुसार वयस्कहरूलाई हुने मधुमेह अब बालबालिकामा देखिन थालेको छ ।
बालबालिकामा वयस्कलाई हुने रोग
डा रोबर्ट लस्टिग भन्छन्, “हिजोआज बालबालिकामा वयस्कलाई हुने रोग देखिन थालेका छन । उदाहरणका लागि टाइप २ मधुमेह र फ्याटी लिभर ।”
डा. लस्टिगका अनुसार सन् १९८० को दशकमा ती रोग वयस्कलाई हुन्थे । ’फ्याटी लिभर’को समस्या सामान्यतया मदिरा पिउने व्यक्तिहरूलाई हुन्छ ।
तर अमेरिकामा २५ प्रतिशत बालबालिकामा अहिले त्यो समस्या छ जबकि बालबालिका मदिरा सेवन गर्दैनन । बालबालिकाहरूले तुलनात्मक रूपमा पहिलाभन्दा अहिले क्यान्डी र चकलेटहरू धेरै सजिलैसँग पाउन थालेको उनी बताउँछन ।
खाद्य पदार्थहरूमा कार्बोहाइड्रेट, चिल्लो र प्रोटीन पाइन्छ । मानव शरीरलाई ऊर्जाका निम्ति कार्बोहाइड्रेटको आवश्यकता पर्छ । कैयौँ खाद्य पदार्थमा प्राकृतिक रूपमा कार्बोहाइड्रेट पाइन्छ । चिनीमा कार्बोहाइड्रेट हुन्छ ।
चिनीबाहेक अरू सामान्य कार्बोहाइड्रेट पाइने चामल अथवा आटाका परिकार हाम्रो पेटमा पुगेपछि हाम्रो आन्द्राले ग्लूकोज निकाल्छ । ग्लूकोजले शरीरमा इन्धनको काम गर्छ, अर्थात् यसबाट ऊर्जा प्राप्त हुन्छ ।
मुम्बईस्थित डाइबीटीज केअर सेन्टरमा कार्यरत डा. राजीव कोविल र डा. सुरेन्द्र कुमार इन्स्युलिन रेसिस्टेन्सबारे बुझाउँदै भन्छन्, “इन्स्युलिन हर्मोनले हाम्रो शरीरमा चालकको काम गर्छ । त्यसले ग्लूकोजलाई मिर्गौला र मुटुसहित अन्य कोशिकामा पुर्‍याउँछ ।”
“इन्स्युलिनको मात्रा बढेपछि यसले काम गर्न बन्द गर्छ । त्यस्तो अवस्थामा ग्लूकोज अन्य विकल्पमार्फत् प्रवेश गर्ने प्रयास गर्छ जसबाट कोशिकामा समस्या उत्पन्न हुन्छ । अनि त्यही ग्लूकोज हाम्रो शरीरमा बोसोको रूपमा जम्मा हुन थाल्छ र हामीलाई समस्या हुन थाल्छ ।” चिकित्सकहरूका अनुसार त्यसबाट हाम्रो शरीरमा चिनीको मात्रा बढ्न थाल्छ र विभिन्न रोगले शरीरलाई सताउन थाल्छ । त्यसबाट मधुमेह, रक्तचाप, मुटुसम्बन्धी रोग र क्यान्सरको समेत खतरा रहन्छ ।
वयस्कलाई लाग्ने रोग अहिले बालबालिकाहरुमा हुन थाले पछि डाक्टरहरुले बेलैमा यसको जानकारी प्राप्त गरी बालबालिकाहरुमा स्वास्थ्यको विशेष महत्व दिने बताएका छन ।