मोटरसाइकल दुर्घटनामा एक शिक्षकको मृत्यु

ललितपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जना शिक्षकको मृत्यु भएको छ । आज बिहान १ : १५ मा महांकाल गाउँपालिका वडा नम्बर ४ स्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
वडा नम्बर ५ बस्ने ५२ वर्षीय रमेश बजगाईंको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार पेशाले मृतक बाघभैरव माध्यमिक विद्यालयका शिक्षक हुन ।

एसपी सुवेदीका अनुसार राति घर जाँदै गर्दा बा ९४ प ६३४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

परिवारले अबेरसम्म घर नआएको भन्दै खोजी गर्नेक्रममा उनी सडकमा लडिरहेको अवस्थामा फेला परेका थिए । त्यसपछि उनलाई पाटन अस्पताल ल्याइएको थियो । पोष्टमर्टमको लागि शव पाटन अस्पतालमा राखिएको छ । घटनाको छानविन जारी रहेको प्रहरीको भनाई छ ।