प्रसुती गृहबाट बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

प्रसुती गृहबाट बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छन । सन्तानको लाेभमा यो कसुर गर्न पुगेकी उनी धरौटीमा रिहा भएकी छन ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पक्राउ परेकी मनकुमारी सिंहसँग एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । धरौटी बुझाएर उनी छुटिसकेकी छन ।
दैलेख नौमुले गाउँपालिका-१ घर भई काठमाडौं काँडाघारी बस्ने २४ वर्षीया मनकुमारीले गत फागुन ११ का दिन प्रसुती गृहबाट चोरी गरेकी थिइन ।
बच्चा चोरी भएपछि प्रहरीले उनलाई त्यही राति पक्राउ गरेको थियो । बच्चाको पनि उद्धार भएको थियो ।

प्रहरी वृत्त सिंहदरबारले उनीविरूद्ध अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान गरी चैत २ गते मुद्दा दायर गरेको थियो । त्यसमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश अधिकारीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
उनले काभ्रेको चौरीदेउराली गाउँपालिका ३ घर भएका कपन बस्ने २२ वर्षिय सविना श्रेष्ठको बच्चा चोरेकी थिइन ।