नक्कली नोट कारोबारको आरोपमा ३ जना पक्राउ, नक्कली नोट छाप्ने मेसिन समेत बरामद

ललितपुरमा नक्कली नोट कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन । आइतबार जिल्ला प्रहरी परिसर ललितपुरले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आरोपित व्यक्तिहरु ललितपुरको गोदावरी नगरपालिका-३ टौखेलका ३७ वर्षीय करण प्रधान, काभ्रेको मन्डनदेउपुर नगरपालिका-११ घर भएका सञ्जय अधिकारी र सोही जिल्ला बेथानचोक गाउँपालिका-३ घर भएका २५ वर्षीय सबिन हुमागाईंलाई सार्वजनिक गरेको छ ।

उनीहरुविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।
नक्कली नोट कारोबार सम्बन्धी गोप्य सुचनाका आधारमा खटिएको टोलीले १ चैतमा गोदावरीमा हिँडिरहेको अवस्थामा करण पक्राउ गरेको थियो ।
यसैगरी उनको साथबाट १ हजार दरका २० थान नक्कली नोट, १ हजार दरकै सक्कली नोट १२ थान, अमेरिकन ५ डलरको नोट २ थान, अमेरिकी १ डलरको नोट ३ थान र आइफोन बरामद गरेको थियो ।

साथै सञ्जयको साथबाट १ हजार दरका ११५ थान नक्कली नोट प्रहरीले बरामद गरेको थियो । एमएम मोबाइलका सञ्चालक सबिनको मोबाइल पसलबाट पनि नक्कली नोट बरामद गरिएको एसएसपी खनालले बताए । उनको पसलबाट १ हजार दरका ६९ थान नक्कली नोट र ५ सय दरका १ थान नक्कली नोट बरामद भएको थियो ।

विभिन्न रकम सहित नक्कली नोट छाप्न प्रयोग भएको प्रिन्टर, ल्यापटप, नक्कली नोट छाप्ने सादा पेपर ४ सय पिस पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि बाँकी अनुसन्धान भैरहेको जनाएको छ ।