’प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण १८ वर्षीया युवतिको हत्या

प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण १८ बर्षिया युवतिको हत्या भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा युवती सुष्मा लामाकै छिमेकी २१ बर्षीय उपेन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ । उनले युवकको प्रेमप्रस्ताव अस्वीकार गरेपछी हत्या गरेर काठमाडौं गोकणर्ेश्वर नगरपालिका ३ स्थित तारेभीरकै जंगलमा गाडिएको अवस्थामा शव भेटिएको थियो ।

उनले सुष्माको विभत्स हत्या गरेको खुलेको छ । पक्राउ परेका लामाले सुष्मालाई एकतर्फी मन पराएको र पटकपटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए । अपराधपछि घटना लुकाउन प्रविधिको समेत गलत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिबाट खाल्डो खन्न प्रयोग गरेको कुटो र उनको कोठाबाट मृतकको मोबाइल र किताब कापी पनि बरामद गरेको छ ।

उनीहरू विगत १/२ वर्षदेखि घाँस काट्न,बाख्रा चराउन सँगै जंगल जान्थे तर सो अवधिमा उनीहरूबीच फोन सम्पर्क वा सामाजिक सञ्जालमा कुराकानी नभएपनि उपेन्द्रले सुष्मालाई आठ महिनादेखि एकतर्फी मन पराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार एकतर्फी प्रेममा रहेका लामा प्रेम प्रस्ताव राख्न सु्ष्मा आउने बाटोमा आठ दिनदेखि कुरेर बसेका थिए । उनी चारदिनदेखि खाल्डो खन्न प्रयोग भएको फलामको कुटो साथमा लिइ हिँडेको समेत खुल्न आएको छ ।
माघ २२ गते बिहान एक्लै कलेज गइरहेकी सुष्मासँग उनको भेट हुन्छ । प्रस्ताव राख्छन्। तर ,सुष्माले विदेश जाने भन्दै प्रस्ताव इन्कार गरिदिन्छिन् । त्यसपछि उपेन्द्रले सुष्माको पछाडिबाट घाँटी थिचि अचेत बनाइ तल जंगलतिर लगी टाइ र जुत्ताको तुनाले घाँटीमा कसेको र हातले उनको कम्मर पेटीले बाँधी पुरेका थिए ।

हत्यापछि लामाले सुष्माको मोबाइल र किताब लगेर गएका थिए । फागुन २३ गते गुगलबाट अर्कैको बेहुला बेहुलीको फोटो डाउनलोड गरी त्यसलाई इडिट गरी ’सरी सबैलाई म तीन दिनपछि आउँछु’ भन्दै सुष्माको फेसबुक वालमा पोस्ट गरेका थिए ।