लिभिङ टुगेदरको सम्बन्धलाई बैधानिकरुपमा माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

लिभिङ टुगेदरको सम्बन्धलाई बैधानिकरुपमा माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको छ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदर सम्बन्धी कानुन बनाउन आदेश माग गर्दै बिहीबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छिन । अदालतले ०८०-डब्लुओ-०९२७ दर्ता नम्बरमा निवेदन बुझेको छ ।


उक्त निवेदनमा लिभिङ टुगेदर कानुनको अभावमा समाजमा नकारात्मक असरहरू देखापरिरहेको र यसलाई समयमै नियमन तथा व्यवस्थापन गर्न जरुरी देखिएकाले तत्काल कानुन निर्माण गर्न सरकार र संसद्लाई परमादेशको आदेश जारी गरी पाउँ भनिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संङघीय संसद्लाई विपक्षी बनाइएको निवेदनमा भनिएको छ,’नेपालमा हाल लिभिङ टुगेदरको कानुन नभएको अवस्थामा,कानुन विपरीत तर आवश्यकताको कारणले यस किसिमको सम्बन्धमा रहने मानिसहरूको सख्या उल्लेख्य मात्रमा रहेको छन यद्यपि यससँग सम्बन्धित कानुनको अभावमा समाजमा नकारात्मक असरहरू देखापरिरहेको छ । लिभिङ टुगेदरसँग सम्बन्धित यसलाई समयमै नियमन तथा व्यवस्थापन गर्न अति नै जरुरी र आवश्यक रहेको छ ।
निवेदनमा मुद्दालाई अग्राधिकार दिन माग पनि गरिएको छ ।
निवेदकले भारतदेखि अमेरिकासम्म लिभिङ टुगेदर सम्बन्धी कानुन रहेको दृष्टान्त दिँदै नेपालमा पनि तत्काल कानुनको आवश्यकता औँल्याएकी छिन ।
नेपालमा पनि लिभिङ टुगेदरको संख्या बढ्दै गएको र यसको बैधानिकरुप कुनै नभएकाले थुप्रै समस्याहरु निम्तिन नदिन यो निवेदन दर्ता गरेकी हुन ।