भारतमा ‘ह्याण्ड पम्प’ बाट निस्कियो मदिरा, प्रहरी नै चकित

खानेपानी निकाल्नका लागि प्रयाेग गरिने ‘ह्याण्ड पम्प’ अहिले पनि प्रचलित छ । तर भारतको उत्तर प्रदेशको झाँसीस्थित एउटा गाउँमा ‘ह्याण्ड पम्प’बाट मदिरा निस्किएको घटना सार्वजनिक भएकाे छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अवैध मदिरा उत्पादन र बिक्री वितरणको सूचना पाएको प्रहरी टोली अनुसन्धानका लागि गाउँमा खटिएको थियो । तर प्रहरीले अवैध मदिरा फेला पार्न सकेन ।

झण्डै रित्तो हात फर्किन लागेको टोलीले नजिकै रहेको ‘ह्याण्ड पम्प’ चलाउँदा पानीको साटो मदिरा निस्किएको थियो । ‘ह्याण्ड पम्प’ बाट मदिरा निस्किएपछि केहीबेर प्रहरी नै चकित परेको थियो ।

‘ह्याण्ड पम्प’ को मुनी उत्खनन् गर्दा प्रहरीले अवैध मदिराका ड्रमहरु फेला पारेको थियो, जसलाई ‘ह्याण्ड पम्प’मा जोडेर मदिरा निकाल्ने गरिएको थियो ।

प्रहरीले उक्त स्थानबाट ६ सय लिटर बराबरकाे अवैध मदिरा बरामद गरेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई महिलालाई गिरफ्तार गरेको छ । साथै बाँकी प्रकृया अघि बढाएको जनाएको छ ।