दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ मेसिन रुपैडिया नाकामा रोकीयो

दैलेखको पञ्चकोशी क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि चीनबाट ल्याइएका ‘ड्रिलिङ’ मेसिनहरु नेपालगंजको रुपैडिया नाकामा रोकिएका छन् ।

अर्थ मन्त्रालयले भन्सार छुटका लागि गर्नुपर्ने आवश्यक निणर्य नगरिदिँदा भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल ल्याउन लागिएका ती मेसिन रुपैडिया नाकामा अड्किएका हुन् । अर्थ मन्त्रालयबाट नेपालगंज भन्सार कार्यालयमा पत्र अझैसम्म नपठाएका कारण सामानहरु रोकिएको पेट्रोलियम पर्दाथ अन्वेषण तथा प्रवर्द्धन केन्द्रका सिनियर डिभिजनल जियोलोजिष्ट डा. गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् ।

‘ती सामान भन्सार छुटमा ल्याउने हो, त्यसका लागि अर्थ मन्त्रालयबाट निणर्य भइ सम्बन्धित भन्सार कार्यालयमा पत्र लेख्नुपर्ने हुन्छ,’ ‘यदि त्यसो नगरे भन्सार कार्यालयले भन्सार शुल्क लगाउँछ, अर्थ मन्त्रालयले पत्र लेखेपछि भन्सार छुटमा त्यहाँबाट सामान आफ्नो गन्तव्यमा लैजानुपर्ने त्रिपाठीले बताएका छन् ।’

उनले भने यस विषयमा यसअघि एक पटक निणर्य भइसकेको हो । तर निणर्यमा आयातकर्ताको नाममा केही त्रुटि भएपछि प्राविधिक समस्या भएको हो । पहिला आयातकर्ता भनेर चाइना जियोलोजिक सर्भेको नाममा निणर्य भई भन्सारमा पठाइएको थियो ।

‘ड्रिलिङ’का लागि ल्याइएका ती मेसिन निकै ठुला छन् । कोलकाता बन्दरगाहबाट मंगलबारसम्म १० वटा ट्रकमा मेसिनका सामान रुपैडिया आइसकेको छ । एक महिना पहिला नै चाइनाबाट हिँडेका ती मेसिन मंगलबार रुपैडिया आइपुगेका हुन् ।
‘ड्रिलिङ’ का लागि दैलेखको भैरवी गाउँपालिका-१, जलजलेमा चिनियाँ प्राविधिकको टोलीले क्याम्प निर्माण गर्नुका साथै मेसिन ल्याएर राख्ने ठाउँ सम्याउने, बाटो निर्माण लगायतका काम गरिरहेको छ ।

पूर्वाधार तयारीको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ भने अब मेसिनरी काम मात्रै बाँकी छ । मेसिन जडान गर्दै ‘ड्रिलिङ’ गर्नुपर्ने हुन्छ । उक्त स्थानमा करिब ४.५ किलोमिटर गहिराइमा ‘ड्रिलिङ’ गरिनेछ । ‘ड्रिलिङ’ पश्चात मात्रै पेट्रोलियम भण्डारण पत्ता लाग्ने छ ।