बाँकेमा लुटेराको कुटपिट बाट एकको मृत्यु, एक घाइते

बाँकेमा बुधबार राती चोरी गर्ने उदेश्यले घरभित्र पसेका लुटेराको कुटपिटबाट एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको नजिकै रहेको जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्ती निवासी सन्तोष थारुको घरमा बुधवार राती करिब १ बजे पाँच सात जनाको समूहमा चोरी गर्ने उद्देश्यले छिरेका लुटेराहरुले कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरीले जानकरी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सो घटनामा परि घाइते भएकी मृतक थारुकी पत्नी सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको छ । लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले थाहा पाएपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथी आक्रमण र कुटपिट गरिएको मृतक थारुकी साली बसन्ती चौधरीले बताईन् ।

प्रहरी नायब निरीक्षक जय बहादुर थारुको कमान्डमा खटिएको प्रहरी टोलीले लुटेराहरूको खोज तलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार लुटेराहरुले परिवारलाई कुटपिट गरेर घाइते बनाई घरबाट दुई कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार नगद लुटेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयबाट ३ किलोमिटरको दुरीमा यस्तो लुटपाट र हत्याको घटना भएकोले स्थानीयले सुरक्षा व्यवस्था प्रति विभीन्न प्रश्न उठाएका छन् ।