बिहे गर्न नमान्दा प्रेमीले गरे प्रेमीकाको विभत्स हत्या

मोरङको पथरीशनिश्चरे ७ मा सोमबार राति हत्या गरिएकी १५ वर्षीया किशोरीलाई उनकै प्रेमीले ज्यान लिएको प्रहरीले बताएको छ । १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेर मोरङ प्रहरीले आज सार्वजनिक गरेको हो ।

आरोपी आफूभन्दा दोब्बरभन्दा धेरै उमेरले कान्छी किशोरीसित डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ।
आरोपी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका हुन । उनी अहिले मोरङ ग्रामथान गाउँपालिकामा बस्दै आएका थिए । हत्यापछि फरार बनेका उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राति २ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

प्रहरीका अनुसार किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने बुझेपछि हत्या गरेको प्रहरीसँग आरोपीले बयान दिएका छन् । विवाहित चौधरीकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीमा बाहिर रहेको र सामाजिक सन्जालमार्फत ज्ञानमतिसँग नजिकिएको प्रहरीको भनाइ छ। पक्राउ परेका चौधरीको १४ वर्षका छोरा छन् । घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ ।

स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ज्ञानमति मामाका छोरा विनोद राईको घरमा बसेर पढिरहेकी थिइन् । दाइले चलाएको खाजा घरमा सहयोग गर्दै, पढ्दै आएकी उनलाई आरोपीले बिहेका लागि दबाब दिइरहेको र परिवारले नमानेको प्रहरीको भनाइ छ । सोमबार राति घरकै शौचालय जाने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो। उनको घटनास्थलमै ज्यान गएको थियो ।