पशुपतिमा गरियो शालिनको दाह संस्कार

विद्यालयको छात्रावासमा झुन्डीएको अवस्थामा फेला परेकी छात्रा शालिन पोखरेलको अन्तिम दाह संस्कार गरिएको छ । पोखरेलको उनकाे अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको हो । मृतकका पिताले आफ्नो छोरीलाई दाग बत्ती दिएर अन्तिम बिदाई गरेका थिए । त्यहाँ उपस्थित आफन्तले उनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन होस भन्दै न्यायका लागि माग गरेका थिए ।

पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेका शिशु निकेतन स्कुलका प्रिन्सिपल सहित ३ जनालाई अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालतबाट थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ गते झुन्डीएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको हत्या भएको किटानी जाहेरीको आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

१४ वर्षीया शालिन ८ कक्षामा पढ्थिन । उनको घटनास्थलमा भेटिएको सुसाइड नोट परीक्षणका लागि प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको छ ।