काठमाडौंमा प्रहरी र फुटपाथ व्यवसायीबीच झडप, दुवैतर्फ गरी ११ जना घाइते

काठमाडौंको सुन्धारामा काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यावसायीबीच झडप भएको छ । बुधबार साँझ फुटपाथ व्यवसायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

झडपमा ५ जना नगर प्रहरी र ६ जना व्यवसायी गरी जम्मा ११ जना घाइते भएका छन् । नगर प्रहरीका अनुसार धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा झडप भएका हो । नगर प्रहरीले भने, ‘९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेका थियौँ । तर उहाँहरुले ७ बजे नै पसल राख्नु भयो । त्यसलाई हटाउन खोज्दा हामीमाथि आक्रमण भयो । तर मजदुरहरूले आफूहरूमाथि नगर प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले विज्ञप्ति जारी गरी काठमाडौं महानगर प्रहरीका डिएसपी मनोज लामिछानेको नेतृत्वमा परिचालित महानगर प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको दाबी गरेको छ ।

यस्तो छ संघले जारी गरेको विज्ञप्ति
काठमाडौँ महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरूले बुधबार साँझ सवा ८ बजेको समयमा काठमाडौँ को सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरि घाइते बनाउनुका साथै, सामानसमेत लुटपाट गरेर मजदुरहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

महानगर प्रहरीको आक्रमणमा परेर स्वरोजगार मजदुर नानीमैया बस्नेत गम्भीर घाइते भई ट्रमा सेन्टरमा भर्ना हुनुभएको छ भने अन्य मजदुरहरू राधिका मैनाली, बद्री देवकोटा घाइते हुनुभएको छ । केही मजदुरहरूलाई नियन्त्रणमा लिई कालिमाटी प्रहरी कार्यालयमा लगिएको छ ।

साँझको समय कसैलाई असर नपार्ने गरी सडकपेटी तथा गल्लीमा व्यवसाय गरिरहेका स्वरोजगार श्रमिकहरूलाई साँझको समयमा अन्धाधुन्ध कुटपिट गर्ने, लछारपछार गर्ने, आमाचकारी गालीगलौज गर्ने, सामानहरू लुट्ने, सामानहरू फ्याँकिदिने र मरणासन्न हुनेगरी घाइते बनाउनेजस्ता महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा महानगर प्रहरीहरूले गरेका अमानवीय व्यवहारको भत्सर्ना गर्दछौँ ।

सानो पुँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडालगायतका सामग्रीहरू सस्तो मूल्यमा बिक्री गर्ने निम्न वर्गका स्वरोजगार मजदुरहरूलाई सत्ता र शक्तिको आडमा गरिएको गुन्डागर्दी खेदजनक छ । साँझको घटनाले महानगरपालिका आतंककारी, अपहरणकारी र लुटेराजस्तो देखिएकाले तत्काल सच्चिन आग्रह गर्दछौँ ।

महानगरपालिकासँग हामी आग्रह गर्दछौँः

१. मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गरी माफी मागियोस् । स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी गम्भीर घाइते बनाउने महानगर प्रहरीहरूलाई तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरहरूको सामान लुट्नेजस्ता आपराधिक कार्यप्रति काठमाडौँ महानगरपालिकाले मजदुरहरूसँग माफी माग्नु पर्दछ ।

२. घाइते मजदुरहरूको तत्काल उपचार गरियोस् । आक्रमणमा परी घाइते हुनुभएका सम्पूणर् श्रमिकहरूको तत्काल अवस्था बुझी तत्काल उपचारको प्रबन्ध गरियोस् ।

३. जफत गरिएका सामानहरू फिर्ता ः महानगर प्रहरीहरूद्वारा आज (बुधबार साँझ) तथा अन्य समयमा लुटिएका स्वरोजगार श्रमिकहरूको सामानहरू सम्बन्धित श्रमिकहरूलाई ससम्मान र तत्काल फिर्ता गरियोस् ।

४. सन्ध्याकालीन बजारको व्यवस्था ः महानगरभित्र सन्ध्याकालीन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थानहरूको निर्धारण गरी व्यवसाय गर्ने वातावरणको व्यवस्था गरियोस् ।

५. कार्यदल गठन ः महानगरभत्रि “सस्तो नागरिक बजार‶को व्यवस्था गर्न, महानगरभित्र “श्रम डेस्क‶को व्यवस्था गरी श्रमिकहरूको सूचीकरण र व्यवस्थापनलगायत तात्कालीन र दीर्घकालीन संकटहरूको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघसहित सरोकारवालाहरू सम्मिलित कार्यदल गठन गरियोस् ।

माथि उल्लेखित विषयहरू तत्काल सम्बोधन नभए सम्पुर्ण श्रमिकहरू सडक आन्दोलनमा जान बाध्य हुने बेहोरा अवगत गराउँदछौँ ।
हार्दिक अभिवादनसहित ।
नेपाल स्वरोजगार व्यापार श्रमिक संघ
केन्द्रीय कमिटी, काठमाडौँ