हुम्लामा अपाङ्गता भएकी महिलालाई बलात्कार गर्ने एक जना पक्राउ

हुम्लामा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । हुम्ला अदानचुली गाउँपालिका-६ को पाल्स गाउँका ३४ वर्षका दीपक टमटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना भएको नौ दिनपछि प्रहरीले टमटालाई नियन्त्रणमा लिन सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले उचाइ कम भएकी अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा टमटालाई प्रहरीले बाजुरा जिल्लाको धुलाचौरबाट नियन्त्रणमा लिन सफल भएको बताउनुभयो ।
‘‘पीडित महिलाले आफ्नो उजुरीमा दीपक टमटाको नाम थाहा नभएपछि मोबाइल नम्बर उल्लेख गर्नुभएको थियो । मोबाइल नम्बरको सिमकार्डमा रहेको नामबाट पीडकको नाम पत्ता लागेको थियो ।,’’
प्रहरी निरीक्षक चन्दले भन्नुभयो, ‘‘मोबाइल नम्बरबाट आरोपी टमटालाई प्रहरीले बाजुरा जिल्लामा नियन्त्रणमा लिन सफल भएको हो ।’
हिरासतमा रहेका टमटाले ती महिलालाई करणी गरेको स्वीकार गरेका छन । जिल्ला अदालतबाट सातदिने म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अदालतमा मुद्दा दर्ता गरिसकेको छ । यही फागुन ४ गते राति १० बजे टमटाले अपाङ्गता भएकी महिलालाई जबरजस्ती गरेको उहाँको भनाइ छ । पीडित महिलाले फागुन ९ गते प्रहरी कार्यालयमा उजुरी दर्ता गर्नुभएको थियो ।
आफू घरमा सुतिरहेको अवस्थामा अदानचुली गाउँपालिका- ६ को पाल्सगाउँ घर बताउने टमटाले बलात्कार गरेको उजुरीमा छ । टमटालाई आवश्यक कार्वाही हुनेछ ।