अश्लिल फोटो खिच्ने सशस्त्रका डिएसपीले प्रमाण मेटाउन लगाएका अनेक जुक्ती

महिलाको अश्लिल तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिएसपी तुलसिंह केसीले प्रहरीलाई झुक्याएर फोन फम्र्याट गरेको पाइएको छ ।

प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका केसीले ड्युटीमा खटिएका प्रहरीलाई झुक्याएर फोन फम्र्याट गरेको पाइएको हो । प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा समेत उल्लेख गरी सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

उक्त प्रतिवेदनका अनुसार डिएसपी केसीले फागुन ८ गते ९मंगलबार० बेलुकी सवा ७ बजे आफ्नो श्रीमतीको सम्पर्क नम्बर निकाल्नु पर्‍यो भनेर ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक रामबाबु राय यादवलाई भनेका थिए ।

केसीले भनेका थिए,‘मैले गरेका गल्तीबारेमा विभिन्न पत्रपत्रिकामा आइ नै सक्यो । मेरो फेसबुक आइडीबाट मेरो तथा परिवारको फोटोहरू तानेर फोटोसहित मिडियामा हाल्न सक्‍ने हुँदा मेरो व्यक्तिगत पहिचान गोप्य राख्न फेसबुक प्रोफाइल डिएक्टिभेट गर्नुपर्‍यो ।’

यसरी अनुरोध गरेपछि सशस्त्र प्रहरी बल नम्बर ४ बाहिनी पोखरामा कार्यरत रहेका डिएसपी भएकाले विश्वास गरी प्रहरी सहायक निरीक्षक यादवले उनलाई मोबाइल दिएका थिए। तर डिएसपी केसीले सम्पूर्ण डाटा र प्रमाणहरू नष्ट गर्ने मनसायले बदनीयतपूर्वक मोबाइल फम्र्याट गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । डाटा नष्ट भएपछि प्रहरीले रिकभरीका लागि डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गराएको पाइएको छ ।

डिएसपी केसीले फागुन ५ गते काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित न्यु इभन पोइन्ट रेष्टुरेन्टमा राति सवा ९ बजेतिर शौच गर्न गएकी एक महिलाको फोटो खिचेको भन्‍दै पीडितले जाहेरी दिएकी थिइान । उक्त जाहेरीपछि प्रहरीले केसीलाई पक्राउ गरी अनुसन्धान गरेको हो ।

यद्यपि सरकारी वकिल कार्यालय स्रोतका अनुसार अदालतमा पेश गरिएको प्रमाण फम्र्याट गर्नुअघि नै प्रिन्‍ट निकालिसकेको पाइएको छ । ‘त्यो गर्नुअघि नै प्रिन्टहरू निकालिएको छ । त्यसैले प्रमाण नै नष्ट भएको भन्न मिल्दैन,’ स्रोतले भन्यो, ‘फम्र्याट भएको भन्ने विषय पनि हेर्दैछ ।’ काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दर्ता गरेको थियो ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ अश्लिल किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा मुद्दा दायर गरेको थियो । उक्त कसुर अनुसार एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ ।

यद्यपि सोमबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले केसीलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ । सेतोपाटीमा समाचार छ ।