माअ‍ोवादी नेता बर्तौलामाथि आक्रमण, योजनाकार सहित ४ जना पक्राउ

माअ‍ोवादी नेता जनक बर्तौलालाई खुकुरी र रड प्रहार गरी भागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका- १० चटारका २४ वर्षीय शेरबहादुर थारु, कोहलपुर- १ कौशिला नगरका २६ वर्षीय आशिष लामिछाने मगर र झापा मेचिनगर नगरपालिका- ८ मेचेगाउँका ३४ वर्षीय कैलास भनिने टेकबहादुर प्रधान छन । पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए । उनीहरूको बयानका आधारमा मुख्य योजनाकार पनि पक्राउ परेको उनले बताए । घटनाका मुख्य योजनाकार मोरङको कानेपोखरी नगरपालिका- ४ का ३५ वर्षीय क्रान्ति बराईली भनिने निलम बिश्वकर्मा रहेको र उनलाई ११ फागुनमा कलंकीबाट पक्राउ गरी अदालतमा बुझाएको छ । बराईलीले शेरबहादुर थारुलाई योजना सुनाउँदै पैसाको समेत ब्यवस्था गरेको प्रहरीले जनाएको छ । उनले काम सकिए पश्चात शेरबहादुर थारुलाई ५० हजार र टेकबहादुर प्रधानलाई २ लाख रुपैयाँ दिएको प्रहरीको भनाई छ । बर्तौलालाई गत २२ कार्तिकमा काठमाडौंको आईप्लेक्स मल नजिकै उनीहरूले धारिलो हतियार प्रहर गरेका थिए । बर्तौला अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष तथा नेकपा माओवादी बागमती प्रदेश सदस्य साथै नेपाल उसु महासंघका केन्द्रीय अध्यक्ष समेत हुन । उनीहरुको ज्यान मार्ने उद्दश्यले आक्रमण गरेको बताए ।