भारतमा एक नेपालीले नेपाल कै १४ वर्षीया बालिकाको हत्या, आरोपी फरार

भारतको गुरुग्राम क्षेत्रमा बस्ने एक जना नेपालीले नेपाल कै १४ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरेको आरोप लागेको छ । उनीहरुको व्यक्तिगत दुश्मनीको बदला लिनका लागि ती नेपालीले छिमेकीकी छोरीको घाँटी रेटेर हत्या गरेको र हत्यापश्चात शवलाई कम्बलमा बेरेर आफ्नै घरमा लुकाएको घटना बाहिर आएको हो ।

आज तकले जनाएअनुसार आइतबार राति करिब ९ बजे उक्त घटना भएको हो । घटनाको सूचना पाउनासाथ प्रहरी घटनास्थलतर्फ गएको र शवलाई पोस्टमार्टमका लागि पठाइएको आज तकले जनाएको छ । प्रहरीका अनुसार आफ्नो परिवारसँग गुरुग्रामको इन्दिरा कोलोनीमा भाडामा बस्ने ती बालिकालाई आमाले बाथरुममा साबुन लिन पठाएकी थिइन ।
साबुन लिन बाथरुम गएकी छोरी धेरैबेर सम्म नआएपछि परिवारले उनको खोजी गर्यो । पीडितका बाबु ज्ञानी थापाले आरोपीलाई आफ्नो कोठाबाहिर देखेपछि छोरीका बारेमा सोधखोज गरे । आरोपीले ती बालिका खाना किन्न बाहिर गएको प्रष्टोक्ति दिए ।

पछि शंका लागेपछि पीडितको परिवारले आरोपीलाई आफ्नो कोठाको ढोका खोल्न आग्रह गरे । आरोपीले ढोका खोल्न नमानेपछि जबरजस्ती ढोका खोल्न खोज्दा आरोपी घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।
ढोका खोलेर हेर्दा ती बालिकाको शव कम्बलमा बेरेर राखेको अवस्थामा फेला पर्यो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । व्यक्तिगत दुश्मनीका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
पीडितका पिताले आफ्नो घर नेपालमा रहेको र सन् २०१९ मा इन्दिरा कोलोनीमा बस्दै आएको बयान दिएका छन् । उनका अनुसार रामु भन्ने आरोपी पनि नेपाली नै हुन् । यद्यपि पीडित परिवार र हत्याका आरोपी नेपालको कुन ठाउँका हुन् भन्नेबारे स्पष्ट छैन ।