किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

दाङको तुलसीपुर – ११ गैरागाँउस्थित नर्सरीमा लगेर एक छात्रालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन ।
शनिबार बेलुकी घरबाट होस्टेल जान थालेकी कक्षा १० मा अध्ययनरत एक १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त किशोरी स्थानीय बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएको र शुक्रबार घर गई शनिबार होस्टेल फर्किंदै गर्दा बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।
सुरूमा एक जना किशोरले ललाइफकाइ ती किशोरीलाई नर्सरीमा पुर्‍याएको र त्यही दुबैले सामूहिक बलात्कार गरेको भन्ने पीडितको जाहेरीमा उल्लेख छ ।

पक्राउ परेकामध्ये किशोरले ती किशोरी आफ्नी प्रेमिका भएको दाबी गर्दै आएको प्रहरी अधिकारी बताउँछन ।
‘पक्राउ परेकामध्ये दुबैले त्यस्तो दाबी पनि गरेका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘तर, त्यसमा सत्यता देखिदैन’।
यस घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
पीडित किशोरीले आइतबार आफूमाथि भएको घटनाबारे प्रहरीमा किटानी जाहेरी दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।